(१) दफा ४ बमोजिम ठेकिएको भूमिकर अर्को व्यवस्था नभएसम्म जिमिदार भए जिमिदार मार्फत र जिमिदार नभए दफा ४ को उपदफा (२) बमोजिमका दर्तावालले रैकर जग्गाको मालपोत बुझाए सरह स्थानीय माल अड्डामा बुझाउन पर्छ र मालपोत बुझाउने र असुल गर्ने सम्बन्धी प्रचलित नेपाल कानुन त्यस्तो भूमिकर बुझाउँदा र असुल गर्दा पनि लागू हुनेछ ।
तर आर्थिक साल २०१६÷१७ र २०१७÷१८ को निमित्त यो ऐनबमोजिम बुझाउन र असुल गर्नु पर्ने भूमिकर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम किस्ताबन्दीमा बुझाउन र असुल गर्न सकिनेछ ।
(२) उपदफा (१) मा लेखिएको कुराको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी दफा ४ बमोजिमको भूमिकर बाँकी भएमा रैकर जग्गाको मालपोत बाँकी भए सरह कारवाई गरी असुल उपर गरिनेछ ।
(३) दफा ४ बमोजिम भूमिकर ठेकिएको “क” श्रेणीको बिर्ता जग्गा हुने बिर्तावाल वा निजको मानिसले यो ऐन प्रारम्भ भएका मितिदेखि त्यस्ता जग्गाको मालपोत उठाउन र लिन पाउने छैन ।
(४) दफा ४ बमोजिम ठेकिएको भूमिकर “ख” श्रेणीको बिर्ता जग्गा हुने बिर्तावालले आफ्नु जग्गा कमाउने व्यक्तिसँग लिने कूत तिरोमा थपी असुल उपर गर्न पाउने छन् ।
(५) बिर्ता जग्गामा जिमिदार पटवारी जिम्मावाल थरि मुखिया रहेको भए निजहरूको हक र दायित्व रैकर जग्गाका त्यस्तै व्यक्ति सरह हुनेछ ।
(६) बिर्तावालको काम गर्न बिर्तावालको तर्फबाट रहेको बिर्ता मालहरू यो ऐन प्रारम्भ भएका मितिदेखि नेपाल सरकारको माल अड्डाको रूपमा परिणत हुनेछन् र त्यस्तो मालमा रहेको बिर्ता सम्बन्धी काजगपत्र नेपाल सरकारको कागजपत्र मानिनेछन् ।
(७) उपदफा (६) बमोजिम सरकारी अड्डामा परिणत गरिएका बिर्तावालका कर्मचारी नेपाल सरकारका निजामती कर्मचारी मानिने छन् ।